एमाले पोलिटब्युरो बैठक: वार्षिक कार्ययोजनामाथि छलफल

काठमाडाैं | भदौ १८, २०८१

एमाले पोलिटब्युरो बैठक: वार्षिक कार्ययोजनामाथि छलफल

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजदेखि सुरु पोलिटब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ । 


पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शङ्कर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

    
कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय सङ्गठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्याङ्कन गरिने कुरा समेटिएको उहाँले बताउनुभयो । 


“पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गदैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ । विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन कि छैनन् भनेर पनि मूल्याङ्कन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन्”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो । 

    
यस्तै सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ । 


प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन् । 

    
भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ । प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताउनुभयो ।


कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन

    
एमालेले विश्वभरका कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्रचार विभाग प्रमुख गौतमकानुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकको अनुभवमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आगामी मङ्सिर वा वैशाखमा महिनामा गर्ने गरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । 


भोलि सबै पोलिटब्युरो सदस्यले आ–आफ्नो भनाइ राख्ने कार्यतालिका छ । कार्ययोजनालाई पोलिटब्युरो सदस्यको सुझावका आधारमा अन्तिम रूप दिएपछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । 

काठमाडौं:   निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरे...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदै छ ।  विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्क...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्